काठमाडौं । संसद्मा सांसदहरू आफ्नो अभिव्यक्ति फरक ढंगले राख्न खोजिरहेका हुन्छन् । आज प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले गुहार मागेका छन् । शून्य समयमा उनले अभिव्यक्ति सुरु गरे, ‘गुहार, गुहार, गुहार ।’
गुहार माग्नुको कारण दिँदै उनले अगाडि भने, ‘कहिले समितिमा विचाराधीन विधेयक लुटेको छ । कहिले सार्वभौम संसदको अधिकार लुटेको छ ।’ सांसद भोटे यतिमै रोकिएनन् । अगाडि भने, ‘कहिले १८ घण्टे लेडसेडिङ मुक्त गर्ने कुलमान घिसिङको अधिकार खोस्न न्वारनदेखिको बल लगाएको छ । कहिले आदिवासी जनजातिले मान्दै आएको मुकुमलुङमा पाथीभरा संरक्षक आम नागरिकको मर्म लुटिएको छ ।’ यति भनेर उनले फेरि सरकार गुहारे, ‘गुहार सरकार, जताततै गाउँ बस्ती जलिरहेछ । वन जंगल जलिरहेको छ । सिंहदरबार जलिरहेको छ ।’
गत असोज दोस्रो साता सिंहदरबार नजिकै रहेको नख्खु खोलामा बाढीले नागरिक बगिरहँदा पनि सरकार नभेटिएको उनले बताएका छन् । सांसद भोटेले भने, ‘२४ घण्टा भोटरले नदी बीचबाट गुहार मागिरहेको छ । सरकार हेलिकप्टर चढिरहेको छ । रोम जलिरहेको छ, न्युरो बाँसुरी बजाइरहेको छ । तर, यहाँ सर्वसत्तावाद लादिरहेको छ ।’