काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । माघ २७, २८ र २९ गते चलेको महाधिवेशनबाट सो प्रस्ताव पारित गरिएको हो ।
काठमाडौंमा भएको पहिलो महाधिवेशनले पुराना शक्तिहरूको विकल्प खोज्नुपर्ने निष्कर्ष निकाल्दै नयाँ वैकल्पिक समाजवादी शक्ति निर्माणका लागि एक हुन अपिल गरेको छ । यस्तै वृहत् शान्ति सम्झौता पछि लामो समयसम्म पनि नेपालको शान्ति प्रक्रिया टुंगिन नसकेको अवस्थामा शान्ति प्रक्रियाका बाँकी कामका रूपमा रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको कामलाई दलहरू बिच सहमतिका आधारमा प्रभावकारी रूपमा अघि बढाउन र यथाशिध्र सम्पन्न गर्न नयाँ शक्तिले माग गरेको छ ।
यसैगरी लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि संविधानका अपूर्णतालाई पूर्णता दिन र देशलाई समावेशी लोकतन्त्र, संघीयता, सुशासन र समृद्धिसहित समुन्नत समाजवादको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्ति निमार्णको अभियानमा दृढ भएर लाग्ने प्रतिवद्घता व्यक्त गर्दै महाधिवेशनले भ्रष्टीकृत पुराना शक्तिहरूको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरूको वृहद ध्रुवीकरण सहित नयाँ वैकल्पिक समाजवादी शक्ति निर्माण गर्नका लागि एकताबद्ध हुन अपिल समेत गरेको छ ।
त्यस्तै, राजनीतिक दलहरूबीच भएको सत्ता गठबन्धन र सरकार परिवर्तनको अभ्यासले संसदीय राजनीतिको फोहोरी खेलको झल्को दिएको सो पार्टीले निष्कर्ष निकालेको छ । अर्थतन्त्रमा संरचनागत सुधारका कुनै संकेत नदेखिएको उल्लेख गर्दै गरिबहरूलाई ऋणमुक्त गर्न समेत नेसपा नयाँ शक्तिको माग रहेको छ ।
1739342988-WUVZW.pdf :To download file click here