काठमाडौं । बारम्बार स्थगित हुँदै आएको ५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।
न्यायाधीश कुमार रेग्मी र हरि फुयालले यस विवादको सुनुवाइमा नबस्ने घोषणा गरेपछि चुडाल र सुवेदीलाई समेट्दै इजलास गठन गरिएको छ । पेसीमा चढेका अघिल्ला तीनमध्ये २ वटा मुद्दा स्थगित भएको र अर्को एकको समेत सुनुवाइ सकिएपछि संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा खाजापछि सुनुवाइ हुने भएको हो । ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा १५ वटा निवेदन परेका छन् । ती सबैलाई एकसाथ राखेर संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।
२०७७ सालदेखिको विचाराधीन यस विवादमा लामो समयदेखि पूर्ण सुनुवाइ हुन सकेको थिएन । विभिन्न राजनीतिक शक्तिको चासो पनि जोडिएको यस मुद्दाको सुनुवाइ नभएकामा न्यायिक नेतृत्वले आलोचनासमेत खेप्नुपरिरहेको छ । अगाडिका दुईवटा मुद्दाको सुनुवाइ स्थगित भएपछि संवैधानिक इजलासको चौथो नम्बरमा रहेको यो मुद्दाको पालो आएको हो ।