काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिप्याड तथा मालिका पिस पार्कको उद्घाटन गरेका छन् । आज मालिका गाउँपालिकाको वडा नम्बर-४ अर्खाबाङमा निर्माण भएको हेलिप्याडको उद्घाटन गरेका हुन् ।
प्रचण्डले सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रूपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गरेका छन् । मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थितिमा हेलिप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमुना हेलिप्याड निर्माण भएको बताएका छन् । प्रचण्डले देशका विभिन्न स्थानहरूमा निर्माण भएका हेलिप्याड भन्दा गुल्मीको हेलिप्याड उत्कृष्ट रहेको बताएका छन् । हेलिप्याडबाट विपद् तथा आपतकालीन अवस्थामा त्यहाँका नागरिकहरूको उद्धार तथा राहतमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
पालिका भित्र निर्माण गरिएका विकास निर्माणका कार्यहरूलाई जनप्रतिनिधि तथा जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले प्रत्यक्ष साक्षात्कार गराएका हुन् । आजै अध्यक्ष प्रचण्डले मालिका गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्दैछन् । त्यसपछि उनको धुर्कोट गाउँपालिकामा निर्माण भएको सहिद पार्कको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।