काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चट्टाने भीर (दुईकिलो) भन्ने ठाउँमा एउटा मोटरसाइकल दुर्घटनामा परेको छ । बागमती प्रदेश ०६-०२प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज बिहान चितवन ईच्छाकामना गाउँपालिका-५ मुग्लिन-नारायणगढ सडक खण्डको कालीखोला भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो । प्रहरीका अनुसार मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन पुगेको हो । स्थानीयले उक्त मोटरसाइकलमा सवार एक व्यक्ति त्रिशूली नदीमा खसेको बताएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ ।
प्रहरीका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस-३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका-१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र परिचयपत्र भेटिएको छ । उक्त नागरिकता र परिचयपत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी) रहेको खुलेको छ । मोटरसाइकलमा कति जना सवार थिए भन्ने नखुलेको र बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकलबाट उछिट्टिएर करिब १ सय ५० मिटर तल खसेको बताएका छन् । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयसहितको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।