काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।
देउवाले आफ्नो निवास बूढानीलकण्ठमा विमलेन्द्र निधि, शशांक कोइराला, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, बालकृष्ण खाण, उमाकान्त चौधरी, एनपी साउद, प्रकाशशरण महत, विजय गच्छदार र कृष्ण सिटौलालाई बोलाएर छलफल गरेका हुन् । आगामी महाधिवेशन लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुरा भएको छलफलमा सहभागी एक नेताले बताएका छन् । उनले भने, ‘पार्टीको महाधिवेशनदेखि समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भयो,।’ बैठकमा सभापति देउवाले महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिएको उनको भनाइ छ ।
ती नेताले ‘यो टिम एक भएर अगाडि बढ्नुपर्नेछ । पार्टीलाई पनि यही आवश्यकता छ, । आगामी महाधिवेशनको तयारी गर्नू, महाधिवेशलाई कसरी सुदृढ बनाउने त्यता पनि ध्यान दिनू ।’ सभापति देउवाले पार्टीको विरासतलाई पनि नभुल्न भनेका छन् । सभापति देउवाले निर्देशन दिँदै भने, ‘कार्यकर्ताबीच एकता कायम राख्न तपाईंहरू एक हुनुपर्छ । पार्टीको राजनीतिक मूल्यमान्यता र विरासत बिर्सिन हुन्न । इमान्दारिताका साथ जिम्मेवारी पूरा गर्नू ।’ देउवालाई दुई/दुईपटक सभापति बनाउन सहयोग गर्ने नेताहरूले बूढानीलकण्ठ पुगेर भेट गरेका हुन् ।
१० औं महाधिवशेनदेखि सँगै भएका नेताहरु र पार्टीको सभापतिमा शेरबहादुर देउवालाई दुई/दुईपटक निर्वाचित गराउन भूमिका खेलेकाहरू बूढानीलकण्ठ पुगेर भेट गरेका हुन् । त्यहाँ पार्टीको आन्तरिक राजनीति र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो ।