काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ०८४ मा बहुमत ल्याउनेगरी कांग्रेसले तयारी गरिरहेको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेता खनालले ०८४ आउँदै गरेको भन्दै कांग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको दाबी गरे। उनले कांग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको बताए।
यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने खनालले टिप्पणी गरे। उनले देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरूले पुनरावलोकन गर्नु आवश्यक रहेको बताए।
देशका सबै वामपन्थी एक हुनुपर्ने खनालको भनाई थियो। खनालले भने, ‘अब ०८४ आउँदैछ। ०८४ को लागि कांग्रेसले राम्रो तयारी गरेको देख्छु मैले। राम्रो तयारीमा छ। ०८४ मा कांग्रेसले यही नै ढाँचाबाट गयो भने बहुमत ल्याउने सम्भावना देख्छु। वामपन्थीले कल्पना नगरे पनि हुन्छ। म एक्लै बहुमत ल्याउँछु भनेर अहिले एमाले हिँड्दैछ। एमालेको एउटा खुट्टा हो की दुई वटा खुट्टा भाँचिने हो भन्नसक्ने अवस्था छैन। त्यो दुर्घटनामा पर्छ।’