सोमवार, आश्विन १९ गते २०८३

प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा कारण देखाऊ आदेश जारी भएको छ।  न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले आइतबार प्रारिम्भक सुनुवाइपछि यस्तो आदेश जारी गरेको हो। 

अधिवक्ता ओमप्रकाश अर्यालले माघ २९ गते प्रधानमन्त्री ओलीसमेतलाई विपक्षी बनाउँदै अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। 

अर्यालले इजलासमा आफ्नो निवेदन संवैधानिक इजलासबाट जारी भएको परमादेश कार्यान्वयनमा अवरोध गरिएको विषयमा रहेकाले सुनुवाइ पनि सोही इजलासमा हुनु उचित हुने माग गरेका थिए। 

निवेदनमा भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोप लगाइएको छ।सर्वोच्च कार्यकारी अधिकारको कपटपूर्ण प्रयोग गरी संवैधानिक प्रणालीप्रति विश्वासघात गरेको भन्दै प्रधानमन्त्री ओली पदमुक्त हुन सक्ने गरी आदेश दिन पनि निवेदक अर्यालको माग छ।

अधिवक्ता अर्यालले सर्वोच्चको संवैधानिक इजलासबाट गत वर्ष माघ २४ मा जारी भएको परमादेशको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले अनवरत रूपमा अवरोध सिर्जना गरेको निवेदनमा उल्लेख गरेका छन्।

सर्वोच्चले हदबन्दी छुट प्रदान गर्दाको अवस्थामा उल्लेख गरिएको सर्तबमोजिमको प्रयोजनमा जग्गाको प्रयोग वा उपयोग नगरी फरक प्रयोजनमा भए वा जग्गा खाली ९बाँझो० राखिएको अवस्थाका जग्गाको पहिचान गरी तत्काल र अनिवार्य रूपमा सो हदबन्दीभन्दा बढी देखिएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम नेपाल सरकारको नाममा प्राप्त गर्न गराउन परमादेश जारी गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार