सोमवार, आश्विन १९ गते २०८३

१७ महिना तोप हाने पनि सरकार ढल्दैन : प्रधानमन्त्री ओली

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्छ भनेर अनावश्यक हल्ला चलाएर अस्थिरतामा मलजल नगर्न आग्रह गरेका छन् । उनले अबको १७ महिना मात्रै सरकारको नेतृत्व गर्ने र त्यसपछि सहजै रूपमा गठबन्धन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताएका छन् ।

‘केही पार्टीले सरकार ढल्ने हल्ला चलाइराखेका छन् । यस्तो हल्ला नचलाइदिए पनि हुन्थ्यो । गलत हल्लाले जनतामा निराशा बढ्छ । अब १७ महिना म सरकार चलाउँछु । त्यसपछि शेरबहादुर देउवाजीलाई सत्ता छोड्छु । यो डिक्लेयर छ । हल्ला चलाउनै पर्दैन’, उनले भने, ‘१७ महिनालाई तोप हाने पनि सरकार ढल्दैन । जे गरे पनि ढल्दैन । प्रधानमन्त्री ढल्दैन । सरकार त दुई तिहाइको छ । जति बल गरे पनि ढल्दैन । १७ महिना पछि केही गर्नै पर्दैन ।’ प्रधानमन्त्री ओलीले अहिले हल्ला चलाएजस्तै आफू कसैको पाटी फुटाउन र जुटाउन नलागेको बताउँदै भने, ‘कतिपयले हल्ला गरेका पार्टी फुटाउँदै छन् भनेर तर त्यो कल्पना बाहिरको कुरा हो । हामीलाई त्यो फुर्सद छैन हामी पाटी फुटाउने होइन देश बनाउन हिँडेका हौँ, सरकार ढल्छ भनेर हल्ला अनावश्यक गरिएको छ, यो हल्ला चलाएर अस्थिरता बढाउनेको भद्दा मजाक हो । अब युवाहरू यही बसेर देश बनाउनुपर्छ अरूको देश बनाएर केही हुँदैन, आफ्नो देश बनाउने हो, पुर्खाले बनाएको इतिहास नयाँ पिँढीलाई बताऔँ ।’

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली धेरै देश संकटमा परेकाले मुख्य प्रतिस्पर्धी रहेका दुई ठूला मुख्य दल मिलेर सरकार चलाउनुपरेको बताएका छन् । ‘सबैतिर निराशा भयो, अस्थिरताले सबै अस्तव्यस्त भयो, अर्थतन्त्र संकटमा परो, युवा शक्ति सबै बाहिर गए, त्यही संकट टार्न दुई दलको सहकार्य भएको हो’ उनले भने, ‘कांग्रेस एमाले अन्य दललाई समेत मिलाएर अघि बढेका छौँ, हामी कसले शासन गर्ने भन्ने विषयमा अलमल पर्दैनौ ।’ उनले संविधान संशोधन केही बिगार्न नभई थप परिष्कृत गर्नका लागि गर्न खोजिएको बताए । ‘संविधान मास्न होइन, थप परिष्कृत गर्न खोजिएको हो पुराना कानुन हटाएर पुराना कानुन हटाउने हो, कुनै प्रकारका भ्रममा नपरी आफ्नो प्रदेशको विकासमा केन्द्रित हुनुहोस् ।’ प्रधानमन्त्री ओलीले सरकारले कानुन अभावमा रोकिएका धेरै काम पूरा गर्न तुरुन्तै काम थालेर अघि बढ्न कानुनका केही समस्या भएकाले अध्यादेश ल्याइएको बताएका छन् ।

उनले भने, ‘६ वटा अध्यादेशले २९ वटा कानुन बनाएर धेरै कामका लागि सजिलो हुने भएको छ तर कहीँ कतै कसैले विरोध गर्नकै लागि विरोध हुनु बेग्लै कुरा हो तर अन्य धेरै ठाउँबाट स्वागत भएको छ ।’ प्रधानमन्त्री ओलीले राजनीतिमा बढी चलेका हल्लाले आशंकाको भरमा नेपाली जनताले यातना सहनुपरेको, जीवन गुमाउनुपरेको छ, । ती बलिदानीले दिएको सन्देश संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा छौँ । उनले अब सहकार्यको राजनीति गर्दै विकासलाई प्राथमिकता दिन आग्रह गरे ।

उनले कांग्रेस र एमालेबिच अहिले कुनै आशङ्का नभएको जिकिर गरेका छन् । बलिया पार्टी मिलेर बलियो सरकार बनेकाले कुनै हल्लाको पछि नलागि ढुक्क भएर काम गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार