सोमवार, आश्विन १९ गते २०८३

सोविता र सुमनालाई बोल्न नदिएको आरोप, सभामुखको प्रष्टीकरण : गलत प्रचारबाजी गरियो

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेको सचिवालयले सोविता गौतम र सुमना श्रेष्ठलाई संसदमा बोल्न समय नदिएकोबारे प्रष्टीकरण दिएको छ । सोमबार सांसद श्रेष्ठले र यसअघि माघ २७ गते गौतमले बोल्नका लागि समय माग गरेका थिए । तर सभामुखले समय नदिएको भन्दै आलोचना भएको थियो । सोही विषयमा सचिवालयले गलत प्रचारबाजी गरिएको जनाएको हो ।

घिमिरेको सचिवालयका अनुसार गौतमले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय मागेकी थिइन् । सभामुखले विधेयक पारित भइसकेकाले आकस्मिक विषय हुन नसक्ने बताएका थिए ।

विधेयक पारित गर्नुअघि नै सभामुखले कानून मन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमति अनुसार नै विधेयक अगाडि बढाएको भने पनि उनले प्रोसेस बिग्रिएको भन्दै बोल्न मागेकी थिइन् । तर, सोविताले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरू नै विषय भए राख्न सक्ने सभामुखले भनेको उनको सचिवालयले जनाएको छ ।

यस्तै, सोमबारको बैठक सुरुवातको जनाउ घण्टी बस्न सुरु भएपछि सुमना भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय माग्न आएको पनि सचिवालयले जनाएको छ ।

सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरे लगत्तै सुमना आएको उल्लेख गर्दै सचिवालयले भनेको छ, ‘‘जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ । तपाईँले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो । उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ । उहाँले समय लिइसक्नुभएको छ । मैले तपाईँको विषय बुझ्न समय भएन । या त भोलि राख्नुहोला’ भनेर निस्कनुभयो ।’

रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै रहेको र बोल्नका लागि पनि कुनै दलीय अनुरोध नआएको सचिवालयले जनाएको छ ।

सभामुखको सचिवालयले भनेको छ, ‘आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिन्थ्यो । त्यो पनि अभ्यास छ । तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको छ । सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानून, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने हो ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार