मंगलवार, आश्विन १३ गते २०८३

च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड खेल्दै

बुधवार , फाल्गुण ७, २०८१

एजेन्सी । पाकिस्तानमा घरेलु टोली र न्युजिल्याण्डबीच खेल हुदै च्याम्पियन्स ट्रफी २०२५ सुरु हुदैछ ।

पाकिस्तान र न्युजिल्याण्डबीचको खेल कराँचीमा रहेको नेशनल स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुदैछ । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको पाकिस्तान मोहम्मद रिजवानको कप्तानीमा पहिलो पटक आइसिसीको प्रतियोगिता खेल्दैछ ।

सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा भारतलाई हराउँदै पाकिस्तानले उपाधी जितेको थियो । इङ्ग्ल्याण्डमा भएको प्रतियोगितामा भारतलाई १ सय ८० रनले पराजित गर्दै पाकिस्तानले उपाधी जितेको थियो ।

दोस्रो संस्करणको च्याम्पियन्स ट्रफी २००० को विजेता रहेको न्युजिल्याण्ड मिचेल सान्टनरको कप्तानीमा मैदान उत्रदै छ । न्युजिल्याण्ड पनि सान्टनरको कप्तानीमा पहिलो पटक आइसिसीको प्रतियोगिता खेल्दैछ । सान्टनरको काधमा टोलीलाई २५ वर्ष पछि उपाधी जिताउँने जिम्मेवारी रहेको छ । सन् २००० मा केन्यामा भएको प्रतियोगितामा न्युजिल्याण्ड च्याम्पियन भएको थियो । फाइनलमा न्युजिल्याण्डले भारतलाई पराजित गरेको थियो ।

चोटले दुवै टोलीलाई सताएको छ । पाकिस्तानका युवा ओपनर सैयम अयुब टोली घोषणा अघि नै चोटका कारण बाहिर भएका थिए । अर्कोतर्फ, न्युजिल्याण्ड पनि चोटको समस्याले ग्रस्त छ । लोकी फर्गुसन तथा बेन सियर्स प्रतियोगिताबाट बाहिरिएका छन् । उनीहरुको स्थानमा काइल जेमिसन र ज्याकोब डफीलाई टिममा समावेश गरिएको छ ।

च्याम्पियन्स ट्रफीको पूर्वसन्ध्यामा हालै पाकिस्तानमा भएको त्रिकोणात्मक सिरिजमा यी दुई टोली आमनेसामने भएका थिए । मिचेल सान्टनरको कप्तानीमा रहेको न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसहित सबै खेल जितेर ट्रफी हात पारेको थियो ।

पाकिस्तान न्युजिल्याण्डविरुद्ध समूह चरणमा पाँच विकेट र फाइनलमा ७८ रनले पराजित भएको थियो । यी दुई टोली सन् २०००, २००६ र २००९ को च्याम्पियन्स ट्रफीमा तीन पटक आमनेसामने भएका थिए । तीनै पटकको भेटमा पाकिस्तान पराजित भएको थियो ।

ओडिआई क्रिकेटमा न्युजिल्यान्डले सन् २०२३ को सुरुवातदेखि अहिलेसम्म ११ पटक पाकिस्तानको सामना गरेको छ । जसमा न्युजिल्यान्डले ५ खेलमा जित र ६ मा हार बेहोरेको छ । पछिल्ला चार खेलमध्ये तीनमा जित निकालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार