वासिङटन डिसी । युक्रेन युद्धलाई लिएर अमेरिका र युक्रेनबीच तनाव थप बढेको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र अमेरिकाबीचको वार्तामा युक्रेनलाई समावेश नगरेकोमा अमेरिकाको आलोचना गरेका थिए। अहिले डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई निशाना बनाएका छन्।
सामाजिक सञ्जाल वेबसाइट ट्रुथमा उनले लामो पोस्टमा लेखेका छन्, 'यस बारेमा सोच्नुहोस्, एक सामान्य हास्य कलाकार भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिकालाई आफूले जित्न नसक्ने युद्धमा हाम फाल्न ३५० अर्ब डलर दिन आग्रह गरे। एउटा युद्ध जुन कहिल्यै सुरु हुनुहुँदैनथ्यो। एउटा युद्ध जुन अमेरिका र ट्रम्प बिना अन्त्य हुन सक्दैन। अमेरिकाले यस युद्धमा युरोप भन्दा २०० अर्ब डलर बढी खर्च गरेको छ। युरोपले खर्च गरेको पैसा फिर्ता पाउनेछ, तर अमेरिकाले केही पाउने छैन।'
उक्त विषयमा बाइडेनप्रति पनि उकले तिक्तता पोख्दै भने,'यो लडाई हामी भन्दा युरोपको लागि महत्त्वपूर्ण छ भन्ने थाहा भएर पनि स्लीपी जो बाइडेनले यस विषयमा समानताको माग किन गरेनन्? रोचक कुरा त के हो भने जेलेन्स्कीले पनि स्वीकार गरेका छन् कि हामीले उनलाई दिएको आधा पैसा हराएको छ। उनले देशमा चुनाव गराउन अस्वीकार गरे।'