सोमवार, आश्विन १९ गते २०८३

पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा बेलुन विस्फोट कसरी भयो ?

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा फागुन ३ गते बेलुन विस्फोट भएको थियो । बेलुन बेच्ने भारतका ४१ वर्षीय कमलेश कुमारलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थप गरी हिरासतमा राखेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थपको अनुमति लिएर प्रहरीले बिहारको मोतिहारीका कमलेशलाई हिरासतमा राखेको हो । फागुन ३ गते बेलुन विस्फोट भएपछि आइतबार कमलेशलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । कमलेशले बयानमा विगत १२ वर्षदेखि पोखरामा बसेर बेलुनमा हाइड्रोजन भरेर बेच्ने काम गर्दै आइरहेका थिए । कास्की प्रहरी स्रोतका अनुसार कमलेशले आफ्नै कोठामा ग्यास बनाउने गरेको र त्यही ग्यास सिलिन्डरमा भर्ने गर्दथे । उक्त ग्यास सिलिन्डर बजारमा लगेर बेलुनमा भरेर बेच्ने गरेका थिए ।

हाइड्रोजन हो वा अरु ग्यास हो भन्ने पत्ता लगाउन पड्किएको बेलुनको नमुना विधि विज्ञान प्रयोगशालामा पठाएको प्रहरीले जनाएको छ । प्रतिवेदन आएपछि मात्रै कुन ग्यास हो भन्ने थाहा हुने बताएका छन् । कमलेशले आफ्नो व्यवसाय कतै दर्ता नगरी चलाएको पाइएको छ । हाल कमलेशलाई अभद्र व्यवहारको कसुरम हिरासतमा राखिए पनि कुन मुद्दा चलाउने भन्ने अध्ययनकै क्रममा रहेको छ । प्रहरीले त्यस दिन मञ्चमा विद्युतीय झिरझिरेको व्यवस्था गरेको एसके साउन्ड प्रालिका सञ्चालक शेरबहादुर गुरुङ, मञ्च सजावटको जिम्मा लिएको परिचय एड्भटाइजिङका सञ्चालक शोभित बस्याल रहेका थिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गठन गरेको छानबिन समितिले पनि घटनाबारे अध्ययन गरिरहेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा बेलुनमा ग्यास भरेर बेच्नेलाई मात्र दोष दिनुभन्दा कार्यक्रम आयोजकको असावधानीको पनि खोजबिन गर्नुपर्ने बताएका छन् । ‘व्यापार व्यवसायको अनुमतिको पाटो एउटा हो, दुर्घटनामा उसको नियत थियो कि थिएन भनेर हेर्नुपर्छ, नियत देखिँदैन, ।’ उनले भने, ‘अपराध हुनका लागि मनसाय हुनुपर्छ, मनसाय देखिँदैन, मनसाय बिनाको कार्य अपराध हुँदैन, ।’

समारोहका प्रमुख अतिथि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले स्विच थिचेर पानसमा बत्ती बालेपछि भ्रमण वर्षको ब्यानरमा रहेको बेलुनको झुप्पा उडाउन खोज्दा नजिकै रहेको झिरझिरेको झिल्काले भेटेर ठूलो आवाज र आगोसहित पड्किएको थियो । बेलुन पड्किँदा पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका थिए । उनीहरुलाई पोखरामा प्राथमिक उपचार गरी हेलिकप्टरमार्फत कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो ।

अर्थमन्त्री पौडेल डिस्चार्ज भइसकेका छन् भने पोखराका मेयर आचार्यलाइ वार्डमा सारिएको छ । उनी खतरामुक्त भइसकेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार