सोमवार, आश्विन १९ गते २०८३

रास्वपाले स्ववियु चुनावमा उम्मेदवारी नदिने

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले जनाएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका विद्यार्थी संगठनका नेताहरू स्ववियुको तयारीका लागि जुटिसकेका छन् । संसद्को चौथो दल रास्वपाले विद्यार्थी संगठन नबनाउने नीति लिएको छ । त्यसैले उम्मेदवारी नहुने रास्वपाको भनाइ रहेको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले स्ववियु निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार नहुने बताएका छन् ।

बुर्लाकोटीका अनुसार ‘स्वतन्त्र विद्यार्थी युनियन स्वतन्त्र नै हुनुपर्दछ । हाम्रो पार्टीको नाम स्वतन्त्र छ । तर, स्वतन्त्र विद्यार्थी युनियनको चरित्र नै स्वतन्त्र हो, । चरित्र स्वतन्त्र भएको र शैक्षिक हितको लागि काम गर्ने विद्यार्थी नेताहरू निर्वाचित हुनुपर्दछ । दलीय हिसाबले हुनु हुँदैन ।’  विद्यार्थी हक हित, शैक्षिक वातावरण सुधार लगायका काममा क्रियाशील विद्यार्थी नेताहरू स्ववियुमा विजयी हुनुपर्ने मान्यता रहेको बताए ।

स्वतन्त्र रूपमा उम्मेदवार बनेकालाई समेत पार्टीले पक्षधरता नदेखाउने उनले जानकारी दिएका छन् । ‘विद्यार्थी हकहित र शैक्षिक सुधारका लागि यो व्यक्ति उपयुक्त छ भनी त्यहींका विद्यार्थीले छनोट गर्न पाउने अधिकार छ । स्वतन्त्र रूपमा उठेका उपयुक्त पात्रलाई भने समर्थन गर्न पार्टीले आह्वान गर्ने बताएका छन्, ।’

आंगिकतर्फ ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको छ । २०७९ चैतमा भएको स्ववियु निर्वाचन आंगिकतर्फ ९ वटा क्याम्पसमा चुनाव हुन सकेको थिएन ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार