काठमाडौं। पोखरा भ्रमण वर्षको घोषणा समारोहमा आगोमा बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन् ।
समारोहका प्रमुख अतिथि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले स्विच थिचेर पानसमा बत्ती बालेपछि भ्रमण वर्षको ब्यानरमा रहेको बेलुनको झुप्पा उडाउन खोज्दा नजिकै रहेको झिरझिरेको झिल्काले भेटेर ठूलो आवाज र आगोसहित पड्किएको थियो । बेलुन पड्किँदा पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका थिए ।
उनीहरुलाई पोखरामा प्राथमिक उपचार गरी हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । घाइते दुवैजनाको काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भएको थियो । अर्थमन्त्री पौडेल भने केही दिनअघि डिस्चार्ज भएका थिए ।