आइतवार, श्रावण २४ गते २०८३

मोदीले भेट्न नमानेपछि देउवा-आरजु तनावमा

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौँ । २०८३ सालको असारमा छैटौँ पटक प्रधानमन्त्री बन्न लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा भारतसँगको सम्बन्ध सुधार गर्न चाहन्छन् । त्यसका लागि देउवा र आरजु बिहीबार महाकुम्भमा स्नान गर्ने बाहनामा भारत जाने तयारीमा थिए ।

जसअनुसार सभापति देउवा बिहीबार चार बजे एयर इण्डियामार्फत भारत जाने तयारीमा थिए ।  भारत भ्रमणमा जानुको उदेश्य महाकुम्भमा स्नान गर्नु नभइ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरि सम्बन्धमा सुधार ल्याउनु थियो । सभापति देउवाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरसंग समेत भेट्न खोजेका थिए । तर, व्यस्त शेड्युल देखाएर तीनैजनाले देउवालाई भेट्न इन्कार गरेको स्रोतको दाबी छ ।

मोदीले देउवासँग भेट नगर्ने सन्देश दिएपछि देउवाले अन्तिम समयमा आएर भारत भ्रमण स्थगित गरे । नेपाली कांग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएपछि देउवासँग मोदी चिडिएका छन् । प्रधानमन्त्री ओलीले भारत भ्रमण जानको लागि हर प्रयास गरे पनि भारतले निम्तासमेत दिएको छैन ।

जसले गर्दा प्रधानमन्त्री ओलीको समेत लामो समयदेखि भारत भ्रमण हुन सकेको छैन । भारत जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेपाली कांग्रेसलाई दबाव दिइरहेको छ । तर, छैटौँ पटक प्रधानमन्त्री बन्ने लाइनमा बसेका देउवाले नमानेपछि पछिल्लो सयम मोदी र देउवाको सम्बन्ध चिसिएको छ ।  किनकी ओली प्रधानमन्त्री बनेको भारतलाई फिटिक्कै मन परेको छैन ।

दुई महिना अगाडि यूरोपबाट सिधै दिल्ली पुगेकी आरजुलाई पनि मोदीले भेट्न मानेका थिएनन्। त्यसपछि आरजु रित्तो हात घर फर्किएकी थिइन । आरजुलाई भारतकी नजिककी पात्र भनेर चिनिन्छ । तर, पछिल्लो समय आरजुसँग समेत भारत रुष्ट छ ।

आफू प्रधानमन्त्री हुनुभन्दा अगाडि जसरी भएपनि भारतसँगको सम्बन्धमा सुधार ल्याउने तयारीमा देउवा जुटेका छन् । यदि भारतसँगको सम्बन्धमा सुधार नल्याइ प्रधानमन्त्रीको कुर्सीमा बसे बाह्य शक्तिले आफूलाई अफ्ठ्यारोमा पार्नसक्ने देउवाको आँकलन छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार