काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरु गर्ने भएको छ । झापाको कचनकवलबाट फागुन १२ गते सुरु हुने अभियान चैत्र ७ गते कञ्चनपुरमा पुगेर समापन हुने भएको छ ।
अभियानको सुरुवात माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झापाबाट गर्ने छन् । अभियानभर माओवादीका पदाधिकारी खटिनेछन् । माओवादी केन्द्र स्रोतका अनुसार हुलाकी राजमार्गले छुने कोशी प्रदेशदेखि सुदूरपश्चिम प्रदेशका जिल्लामा अभियान सञ्चालन हुनेछ । अभियानको सुरुवात झापाको बाह्रदशी गाउँपालिकाबाट भइरहेको छ । त्यही दिन झापा गाउँपालिकामा भेटघाट, अन्तरक्रिया तथा सभा हुने माओवादीले जनाएको छ । फागुन १३ मा मोरङमा भेटघाट, अन्तरक्रिया तथा सभा गर्ने कार्यतालिका रहेको छ ।
फागुन १५ मा सुनसरीमा भेटघाट, अन्तरक्रिया तथा सभा हुने भएको छ । त्यसैगरी फागुन १६ गते सप्तरी, १७ गते सिरहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया गर्ने माओवादीले जनाएको छ । माओवादीले फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तर्क्रिया हुनेछ । नवलपुर (नवलपरासी पूर्व) मा फागुन २६ गते सभा हुनेछ भने २७ गते लुम्बिनी प्रदेशको नवलपरासीपश्चिमा सभा, भेटघाट र अन्तर्क्रिया कार्यक्रम हुने भएको छ ।
त्यस्तै २८ फागुनमा रुपन्देहीमा कार्यक्रम हुनेछ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुनेछ । त्यसैगरी चैत्र ४ गते बाँके, ५ गते बर्दिया, ६ गते कैलाली र ७ गते कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन गरिने छ ।