काठमाडौं । शुक्रबारदेखि जारी नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटी बैठकमा उक्त पार्टीका सम्मानित नेता झलनाथ खनालले आफूलाई ‘सामान्य सदस्य’ भन्दै फरक मत दर्ज गरेका छन् ।
पार्टीको विधानले सम्मानित र वरिष्ठ नेता केन्द्रीय कमिटीको बैठकले निर्वाचित गर्नुपर्ने व्यवस्था गरेपछि त्यसप्रति असन्तुष्टि राख्दै खनालले आफूलाई ‘सामान्य सदस्य’ भनेका हुन् । पार्टीका एक नेताका अनुसार, १० औं महाधिवेशनको हलले नै उनलाई सम्मानित नेताका रुपमा अनुमोदन गरिसकेपछि विधानको बखेडा झिकेर ‘सामान्य सदस्य’ लेख्ने तहमा पुगेका हुन् ।
शुक्रबार शुरु भएको केन्द्रीय कमिटी बैठकका सहभागीबीच खनालले वितरण गरेको फरक मतमा हाले अनेरास्ववियू र युवा संघका विषयमा उत्पन्न विवादका विषय केन्द्रित छन् । उनले १० औं महाधिवेशन गरेर पार्टीलाई ‘टीके प्रथा’ बाट जनवादी केन्द्रीयताका आधारमा निर्देशित कमिटीहरु बनाउन थालेको भन्दै असन्तुष्टि राखेका हुन् ।