काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यभार सम्हालेको सात महिना भन्दा बढि भइसकेको छ । तर, छिमेकी देश भारतले अहिलेसम्म प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तोसमेत दिएको छैन ।
यसअघिका प्रधानमन्त्रीले पद सम्हाले लगत्तै भारत भ्रमणको निम्तो आउँथ्यो, सोही अनुरूप भारत भ्रमण हुन्थ्यो। अधिकांश अवस्थामा हरेक जसो नेपाली प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणको गन्तव्य पनि भारत नै हुने गरेको छ। यस पटक प्रधानमन्त्री ओलीलाई हालसम्म भारतले निम्त्याएको छैन। जसबारे अनेक टीकाटिप्पणी हुने गरेको छ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच गत असार १७ गते भएको ७ बुँदे सहमतिअनुसार असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसपछि पहिलो विदेश भ्रमणका रूपमा उनले भारत नै जान चाहेका थिए।
तर निम्तो नआएपछि उनी संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभाका लागि अमेरिका गए। त्यहाँ परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको समन्वयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री ओलीबिच ‘साइडलाइन भेटवार्ता’ भएको थियो।
भेटवार्तामा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्ता दिए । तर, मोदीले भने ओलीलाई भ्रमणको निम्ता समेत दिएनन् ।
त्यसपछि प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा गएका थिए। जहाँ चीनको महत्त्वाकाङ्क्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ(बिआरआई) फ्रेमवर्कमा हस्ताक्षर भयो।
चीनबाट फर्किएका प्रधानमन्त्री ओलीले मंसिर २३ गते झापा पुगेर आफू चाँडै भारत भ्रमणमा जाने बताएका थिए। प्रधानमन्त्री ओलीले त्यसको भनेको पनि ३ महिना बित्न लागेको छ।
यता भारतले भने प्रधानमन्त्री ओलीलाई हालसम्म भ्रमणको निम्ता समेत दिएको छैन । भारत भ्रमणको लागि परराष्ट्रमन्त्री आरजु राणाले अनेकौँ प्रयास गरिन् । तर, ओलीको भारत भ्रमणका लागि आरजुले गरेको प्रयास पनि असफल भयो ।
यसैबीचमा परराष्ट्र मन्त्री राणाले शनिवार भारतीय सञ्चारमाध्यम ‘द हिन्दु’सँग कुरा गर्दै प्रधानमन्त्री ओलीको भारत भ्रमणको सम्भावनाबारे कुरा गरेकी छन्। हिन्दुले छापेको समाचार अनुसार उनले ‘प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि निमन्त्रणाको पर्खाइ रहेको’ बताएकी छन्।
यस्तै परराष्ट्र मन्त्री राणाले आगामी अप्रिलमा थाइल्यान्डको बैंककमा हुने बिमस्टेक शिखर सम्मेलनको अवसरमा ओली–मोदीबिच साइडलाइन भेटवार्ता हुने अपेक्षा पनि गरेकी छन्।
हिन्दुले नेपाली प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणका लागि निमन्त्रणा दिनमा असामान्य ढिलाइ गरेको भन्दै त्यसले ‘दिल्ली र काठमाडौँबिचको सम्बन्धमा तनावको सङ्केत मिल्ने’ लेखेको छ। ‘भारतको ढिलाइको आभाष भइरहेका बेला ओली चीन भ्रमणमा गए, त्यसबाट दुई देशबिचको मतभेद अझै बढेको मानिएको छ’, हिन्दुले लेखेको छ।