काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो क्रान्तिको केन्द्र रहेको झापा आज प्रतिक्रान्तिको केन्द्र बन्ने खतरोन्मुख रहेको बताएका छन् ।
माओवादी केन्द्रले आजदेखि सुरु गरेको ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियानका क्रममा झापामा पुराना कम्युनिस्ट नेतालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । प्रचण्डले भने, ‘हिजो क्रान्तिको केन्द्र भएको र आज प्रतिक्रान्तिको केन्द्र हुने खतरा रहेको झापालाई फेरि क्रान्तिकै केन्द्र बनाउनका लागि तपाईँहरुसँग अपिल गर्न, यहाँको जनतासँग अपिल गर्न आएका छौँ, ।’ तर, उनले यो कसलाई भनेका हुन भनेर प्रस्ट पारेका छैनन् । झापाबाट प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रतिनिधित्व गर्दै छन् । पछिल्लो समय दाहाल उनको कटु आलोचना गर्दै आइरहेका छन् ।
प्रचण्डले प्रधानमन्त्री ओलीमाथि प्रतिगमनकारी र लोकतन्त्र विरोधी शक्तिका रूपमा आलोचना गर्दै आएका छन् । यस्तै राजसंस्था फर्काउने भन्दै अभियान चलाइरहेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन पनि झापाबाटै प्रतिनिधित्व गर्दै छन् । पछिल्लो समय राप्रपाले राजा फर्काउने भन्दै वर्तमान व्यवस्थाका विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेका छन् । यही परिप्रेक्ष्य दाहालले झापा पुगेर क्रान्तिको केन्द्र प्रतिक्रान्तिको केन्द्र बन्ने खतरा रहेको भन्दै टिप्पणी गरेको देखिन्छ ।
त्यसैगरी प्रचण्डले झापा विद्रोहका नेताहरूले पछिल्लो समय क्रान्तिको धार छाडिसकेको बताएका छन् । प्रचण्ड बोल्नुअघि झापाका पुराना कम्युनिस्ट नेता वेदनिधि निरौलाले झापा विद्रोहको समय सम्झिएका थिए । ‘त्यति बेला तपाईँहरू लाग्नु बेठिक भो भन्ने होइन, त्यति बेला तपाईँहरूले क्रान्तिकारी धारको खोजी गर्ने क्रममा नै लाग्नुभएको हो,’ वेदनिधिका कुरालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘तर अहिले त्यो धारका नेताहरू वा त्यो सङ्गठन नेतृत्व चाहिँ अहिले पुँजीवादी धारतिर गइसकेको छ । क्रान्तिको धार छोडिसकेको छ ।’
अब हामीले फेरि नयाँ समाजवादी क्रान्तिको निम्ति फेरि नयाँ ढङ्गले सोच्नुपर्ने बेला भएको उनले बताएका छन् ।