काठमाडौं । चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनल टिकटदर तोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाल र म्यानमारबीच बुधबार हुने फाइनल खेलमा भीआईपी सिटका लागि २ हजार रुपैयाँ र साधारण सिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ ।
लिगमा भीआईपीतर्फ १ हजार र साधारणतर्फ ५ सय रुपैयाँको टिकट दर राखिएको थियो । त्यस्तै एन्फाले फाइनल खेलका लागि पाँच वर्षभन्दा माथिको उमेरका बालबालिकालाई पनि शुल्क लाग्ने जनाएको छ । च्याम्पियनसिपमा नेपालसहित, म्यानमार, लेबनान र ताजकिस्तान सहभागी भएका छन् । म्यानमार र नेपाल समूह विजेता र उपविजेता बनेर फाइनल पुगेका हुन् । समूह चरणको अन्तिम खेलमा दुई टोली २-२ गोलमा रोकिएका थिए ।
बुधबार फाइनल खेल निर्धारित ९० मिनेटको समयमा बराबरीमा रोकिए ३० मिनेट अतिरिक्त समय थपिनेछ । थप समयमा पनि बराबरी भएपछि बल्ल खेल ट्राइबरेकरमा जानेछ ।