काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने बताएका छन् ।
हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘झन् बल प्रयोग गरेर आन्दोलनकारीको टाउको फुटाएर, विचरा प्रहरीले नचाहँदा नचाहँदै पनि सरकारले भनेको मान्नुपर्ने, थुप्रै प्रहरी पनि घाइते हुने जुन परिस्थिति सरकारले बनाएको छ, । फेरि पनि वार्ता र संवादबाट त्यसलाई रोकियोस् । यदि रोकिएन भने माओवादी आन्दोलनकारीको पक्षमा उभिनेछ र देशव्यापी आन्दोलनतिर जानेछ प्रचण्डले भने, ।’
पाथीभराको मुद्दा सांस्कृतिक र भावनात्मक ऐतिहासिक मुद्दा भएको बताउँदै, उनले यसमा बल प्रयोग गर्ने दुस्साहस नगर्न सरकारलाई आग्रह गरेका छन् । ‘यसलाई बल प्रयोगद्वारा हल गर्ने दुस्साहस सरकारले नगरोस् । यदि बल प्रयोग गरेर भावनाको मुद्दालाई इतिहास र पौराणिकताको विषयलाई हल गर्न खोज्यो भने त्यो दुर्भाग्य हुन्छ भनेको थिएँ, ।’
उनले भने, ‘एउटा खबरदारी सभामा बल प्रयोग नगर्नू, यसलाई समझदारीको माध्यमबाट विन विनको बाटो खोज्नुपर्छ । सबैलाई मान्य हुने समझदारीको बाटो खोज्नुपर्छ ।’