काठमाडौँ । आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ८ रनले पराजित गर्दै महत्वपूर्ण जित निकालेको छ । ३२६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३१७ रनमा अलआउट भयो । हारसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ ।
लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो । इब्राहिम जादरानले १४६ बलमा १२ चौका र ६ छक्का प्रहार गर्दै १७७ रनको विस्फोटक इनिङ्स खेले ।
बलिङतर्फ इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले ३ विकेट लिए भने लियाम लिभिङस्टोनले २ विकेट तथा जैमी ओभरटन र आदिल राशिदले समान १र१ विकेट लिए ।
इङ्ग्ल्याण्डका लागि जो रुटले सर्वाधिक १२० रन बनाए । अफगानिस्तानका बलर अजमतुल्लाह ओमरजइले ५ विकेट लिए भने मोहम्मद नबीले २ विकेट लिए ।
इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफीबाट बाहिरियो
ग्रुप ‘बी’ मा चार टिम छन् – अस्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान र इङ्ग्ल्याण्ड । समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुईरदुई खेल खेलेपछि दक्षिण अफ्रिका र अस्ट्रेलिया समान ३र३ अंकका साथ शीर्ष दुई स्थानमा छन् ।
अफगानिस्तानले इङ्ग्ल्याण्डलाई हराएर २ अंक प्राप्त गरेको छ र टोली तेस्रो स्थानमा पुगेको छ । इङ्ग्ल्याण्डले अहिलेसम्म कुनै खेल जित्न सकेको छैन ।
अब अन्तिम खेलमा दक्षिण अफ्रिकालाई हराए पनि इङ्ग्ल्याण्डको २ अंक मात्र हुनेछ, जुन सेमिफाइनल पुग्न पर्याप्त हुने छैन । अब अफगानिस्तानले अन्तिम खेलमा अस्ट्रेलियालाई पराजित गरे सेमिफाइनलमा प्रवेश गर्नेछ ।