काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारले ६ महिनापछि २७ सयको विन्दु पार गरेको छ । गत भदौ १९ गते सेयरबजार २८६१ विन्दुसम्म पुगेको थियो । आज सेयर बजारले २८ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ४९.१५ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २८१५ मा कायम भएको छ ।
यस दिन ४९.१५ अंकले नेप्से बढेपछि बजार फेरि २८१५.०४ विन्दुमा फर्किएको हो । योसँगै कारोबार रकम पनि ११ अर्ब नाघेको छ । २ करोड ६१ लाख कित्ता सेयर बिक्रीपछि ११ अर्ब ३९ करोडको कारोबार भएको हो । आज १८६ कम्पनीको मूल्य बढ्दा ५२ वटाको मूल्य घटेको छ भने ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ । आज बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.३२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाले असल वर्गमा बैंकहरुले छुट्याउनुपर्ने लोनलस प्रोभिजन दर १.१० बाट १ प्रतिशतमा झारिएपछि यस सेक्टरमा आकर्षण देखिएको हो । यसले बैंकहरुले आगामी वित्तीय विवरणमा नाफा बढ्ने अनुमान गरिएको छ । यहीं कारण आज यो सेक्टरले छलाङ मारेको देखिन्छ ।
यद्यपि बजारका सबै सेक्टर बढेका छन् । बैंकिङ पछि उत्पादन सेक्टर २.९१ प्रतिशतले बढेको छ । व्यापार १.२०, अन्य १.०१, निर्जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.९१, जीवन बीमा ०.८१, लगानी १.२५, हाइड्रोपावर १.८०, होटल तथा पर्यटन १.१२, फाइनान्स ०.२८ र विकास बैंक समूह १.५३ प्रतिशतले बढेका छन् । चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, अपरहेवाखोला, सिन्धु विकास बैंक र दोर्दीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो । लिबर्टी इनर्जीको मूल्य ९.९६, गुराँस लघुवित्तको ९.२४, बोटलर्स नेपाल बालाजुको ८.९९ प्रतिशतले बढेको छ । भूगोल इनर्जीको ७.१७ तथा उपकार लघुवित्तको ६.२५ प्रतिशतले मूल्य घटेको छ ।
हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ९६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार घएको छ । त्यसपछि धेरै कारोबार भएका कम्पनीहरुमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सिंगटी हाइड्रोपावर र कुमारी बैंक रहेका छन् ।