बिहिवार, आश्विन १५ गते २०८३

बाढी र पहिरोपछि अष्ट्रेलिया सरकारले देखाएको एक्यबद्धता र सहयोगका लागि कृतज्ञता व्यक्त

बिहिवार , आश्विन १५, २०८३

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले नेपालमा हालै आएको बाढी र पहिरोपछि अष्ट्रेलिया सरकारले देखाएको मित्रता, एक्यबद्धता र सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको छ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज गर्नुभएको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री शाहज्यूले सो आभार व्यक्त गर्नुभएको हो।

​भेटका क्रममा प्रधानमन्त्रीले बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै नेपाल सरकारले खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिनुभयो। 

​विपद् लगत्तै अष्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटर, राहत सामग्री र १७ सदस्यीय विपद् सहकार्य तथा प्रतिकार्य टोली नेपाल पठाएकोमा प्रधानमन्त्रीज्यूले प्रशंसा गर्नुभयो। साथै, अष्ट्रेलियाले उपलब्ध गराएको ११ मिलियन अष्ट्रेलियन डलरको सहयोग दुई देशबीचको प्रगाढ सम्बन्धको प्रतीक भएको उहाँको भनाइ थियो।

​सो क्रममा बाढीका कारण बेपत्ता रहेका अष्ट्रेलियन नागरिकको खोजी कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको प्रधानमन्त्री शाहज्यूले बताउनुभयो। उहाँले अष्ट्रेलियाले नेपालको मानव संसाधन विकासमा पुर्‍याउँदै आएको निरन्तर सहयोगका लागि पनि धन्यवाद दिनुभयो।

​भेटमा राजदूत साइमन अर्न्स्टले प्राकृतिक विपद्का कारण नेपालले बेहोरेको क्षतिप्रति समवेदना व्यक्त गर्नुभयो। साथै, उहाँले हालै संयुक्त राष्ट्रसंघमा नेपालले जनाएको सशक्त र प्रभावकारी उपस्थितिको समेत प्रशंसा गर्नुभएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार