बिहिवार, आश्विन १५ गते २०८३

त्रिविको सिनेट बैठक असोज २२ गते ,पदाधिकारी नियुक्त हुनै बाँकी

बिहिवार , आश्विन १५, २०८३

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सिनेट बैठक बोलाएको छ। तर, पदाधिकारी नियुक्त हुन भने बाँकी नै छ। 

त्रिविको सिनेट बैठक असोज २२ गते बस्ने निर्णय भएको प्रवक्ता नवीन्द्र भण्डारीले बताए। ‘सिनेट बस्न ४९ जना सदस्य हुनुपर्छ। पदेन सदस्यबाहेक अन्य नियुक्ति हुने प्रक्रियामा रहेको छ,’ भण्डारीले भने, ‘असोज २२ सम्म नियुक्ति गरेर सिनेट बस्ने निर्णय भएको छ।’  

त्रिवि सिनेटका लागि २१ सदस्य मात्रै मनोनयन भएका छन्। २८ जना पदाधिकारी नियुक्त हुनै बाँकी छ। 

त्रिवि सभा बस्नका लागि गण पूरक संख्या पुग्ने गरी सदस्य र पदाधिकारी नियुक्त भएका छैनन्। सभा बस्नका लागि सम्पूर्ण सदस्यको ५० प्रतिशत सदस्य उपस्थित भएमा मात्रै बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था रहेको प्रवक्ता भण्डारीले बताए।

उनले त्रिवि सभामा सुरुमा वार्षिक दिवस बैठक बसेर विद्यार्थीको ‘ग्रेस लिस्ट’ पारित गर्ने र दोस्रो साधारण बैठकले नीति तथा कार्यक्रम र बजेट पारित गर्ने बताए। त्रिवि सभाबाट ‘ग्रेस लिस्ट’ पारित गरेपछि मात्र दीक्षान्त समारोहमा आवेदन खुलाउने अभ्यास रहेको छ। 

सभाले पूर्णता नपाउँदा त्रिविले दीक्षित हुने विद्यार्थीको ‘ग्रेस लिस्ट’ सभाबाट पारित नहुँदै दीक्षान्त समारोहको आवेदन खुला गरेको छ। ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीले आगामी कात्तिक १२ गतेसम्म आवेदन दिन सकिने त्रिविले जनाएको छ। सभा बैठकबाट करिब ९५ हजार विद्यार्थीको ‘ग्रेस लिस्ट’ पारित गर्ने प्रवक्ता भण्डारीले बताए।

त्यस्तै सभा बस्न चार महिना ढिलो भएको छ। जसले गर्दा त्रिवि पेस्की बजेटबाट चलिरहेको उनले बताए।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार