सोमवार, आश्विन १९ गते २०८३

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप

बिहिवार , फाल्गुण १५, २०८१

काठमाडौं । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसङ्घका दुई समूह बिच झडप भएको छ । झडपमा परी दुई जना घाइते भएका छन् । क्याम्पसमा देउवा समूह र शेखर कोइराला समूहका विद्यार्थीबीच कुटाकुट भएको हो ।

घटनामा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल तथा अर्का सदस्य आयुष दाहाल घाइते भएका छन् । आउँदै गरेको स्ववियु निर्वाचनको विषयलाई लिएर केही दिनअघि देखि नै यी दुई समूहको बिचमा विवाद हुँदै आएको थियो । बिहीबार दिउँसो क्याम्पस परिसरमै पोखरेल कुटिएका हुन् । कुट्ने र कुटाइ खाने दुवै नेविसंघकै नेता रहेका छन् । तर, उनीहरूको गुट फरक रहेको छ । कुट्ने स्ववियु सभापति पौडेल कांग्रेस संस्थापन पक्ष र कुटिने पोखरेल डा. शेखर कोइराला पक्षका रहेका छन् ।

नेविसंघ स्रोतका अनुसार पोखरेल आसन्न स्ववियु चुनावको तयारीको क्रममा संगठन विस्तारका लागि कलेजमा पुगेका थिए । सोही क्रममा पौडेल पक्षका विद्यार्थीहरूले उनलाई रोकेका थिए । त्यसक्रममा भनाभन भएपछि स्ववियु सभापति पौडेलसहितको समूहले पोखरेललाई लछारपछार पार्दै कुटपिट गरेका हुन् ।

उनीहरूलाई उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार