काठमाडौँ । व्यापारीबाट जग्गा दान लिएको नेकपा एमाले आम्दानी र बचतको हिसाबमा सबैभन्दा धनी देखिएको छ । भाटभटेनीका संचालक व्यावसयी मीनबहादुर गुरुङले एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिएका थिए ।
दशैं अष्टमीको दिन (२५ असोजमा) पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पत्नी राधिका शाक्य तथा व्यापारी दम्पत्ति मीन गुरुङ र सावित्री गुरुङले हिन्दू बिधि बमोजिम दान दिएको जग्गामा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरे ।
अदालतमा मुद्धा चलिरहेको व्यापारीबाट जग्गा लिएको भन्दै एमालेको निकै आलोचना भयो । पार्टीभित्र जग्गा दान लिने निर्णय फिर्ता लिन चर्को आवाज उठ्यो । तर, ओलीले कसैको सुनेनन् । उल्टै यो विषयमा बोल्नेहरुलाई अध्यक्ष ओलीले कारबाही गरे । तर, व्यापारी बाट जग्गा दान लिने एमाले आम्दानी र बचतको हिसाबमा सबैभन्दा धनी देखिएको छ ।
एमालेले गत आर्थिक वर्ष (२०८०/८१)मा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ । उसले ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको छ । यस हिसाबले एमालेसँग ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचत छ ।
निर्वाचन आयोगमा राजनीतिक दलहरुले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण हेर्दा अन्य दलहरुको तुलनामा एमाले सबैभन्दा धनी देखिन्छ ।
एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क हो । एमालेले यो शीर्षकमा आर्थिक वर्ष २०८०/८१ मा कार्यकर्ताहरुबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ ।
दलहरुको आम्दानी र खर्चको विवरण हेर्दा संसद्को पहिलो दल नेपाली कांग्रेस, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी घाटामा देखिन्छन् ।
कांग्रेसले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपियाँ , माओवादीले १ करोड ८६ लाख ५३ हजार १४६ रुपैयाँ, रास्वपाले ३ करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ र एकीकृत समाजवादीले ४ करोड २४ लाख ५३ हजार ६९१ रुपियाँ आम्दानी गरेको छ ।