काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । शुक्रबार साँझ ४ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भएको छ ।
पदाधिकारी र पूर्वपदाधिकारीका लागि बैठक बोलाइएको छ । उक्त बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल हुने छ । बैठकका थप एजेण्डामा भ्रातृ संस्थाहरुको अधिवेशन समेत रहेको छ । कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ । संसदमा पेश भएका विधेयकलाई समयमै पारित गराउन कांग्रेसले सक्रियता लिने बारेमा छलफल गरिने भएको छ ।
पार्टीको सांगठनिक सुदृढीकरण छलफलको एजेण्डा रहेको छ, । भ्रातृ संस्थाको अधिवेशन समयमै गराउने सम्बन्धमा पनि छलफल गरिने छ । शीर्ष नेताको बैठकमा जारी भएका अध्यादेश पारित गराउने बारेमा पनि छलफल हुने छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशलाई संसदको प्रक्रियामा लगिएको छैन ।