सोमवार, आश्विन १९ गते २०८३

उपेन्द्रको खुलासा : अध्यादेश पास गराउन बिचौलियाहरू सांसद खरिद बिक्रीमा लागेका छन्

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी अध्यादेश आयो भने मधेस त बर्बाद हुन्छ नै हिमाल र पहाड पनि समाप्त हुने बताएका छन् । मधेसमा हुने मरुभूमिको असर हिमाली र पहाडी क्षेत्रमा पनि पुग्ने बताउँदै यसले मधेसलाई मात्र होइन, हिमाल पहाडलाई पनि असर गर्ने उनले बताए । 

जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट बौद्धिक पेसाकर्मी महासङ्घले शुक्रवार भूमि सम्बन्धी अध्यादेशबारे आयोजना गरेको बृहत् अन्तरक्रियामा उनले युनेस्कोले चुरेलाई केही नगर्न र संरक्षण गर्न भनेको बताउँदै त्यसका लागि बजेट पनि दिइरहेको भए पनि  विभिन्न नाममा चुरे समाप्त गर्ने काम भइरहेको बताए ।

‘सुरुमा मधेस समाप्त हुन्छ, त्यसपछि पुरै देश नै समाप्त हुन्छ’ अध्यक्ष यादवले भने( ‘सन् १९५४ मा पनि युएनका विज्ञले चुरेलाई रोक भनेको तर सरकारले रोक्न सकेन, बरु पुनर्वास कम्पनी खडा गरेर बसाइसराइ वृद्धि गरेर वन विनाश गर्ने काम भयो ।’ अहिले सो क्षेत्रमा चार फिटसम्म पानी पाउन छाडेको उनले बताए । अहिले  मधेसमा पनि थुप्रै ठाउँमा पानी पाउन छाडिएको भन्दै यसलाई जोगाउन आवश्यक रहेको यादवले बताए । 

मधेस मरुभूमि भयो भए त्यसले हिमाल, पहाड मात्र होइन, भारतको गङ्गा तटसम्म असर गर्ने देखिएको बताउँदै उनले देश जोगाउनका लागि चुरे संरक्षण गर्नुपर्ने बताए । मरुभूमिका देशहरू हराभरा भइसकेका बेला हराभरा देश नेपाललाई मरुभूमीकरण गर्न लागेको उनले बताए । उनले भने, ‘अध्यादेश ल्याउनु राष्ट्रिय हित होइन, राष्ट्रघाती कार्य हो ।’ 

संसद् खरिद बिक्री गरेर अध्यादेश पारित गराउने हो भने जसपा नेपाल सरकारको विरुद्धमा आन्दोलनमा जाने बताउँदै उनले अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गरे ।    त्यस्तै उनले बिचौलियाहरू सांसद खरिद बिक्री गरेका आरोप पनि लगाएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार