काठमाडौँ । हमास समूहद्वारा कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले निराशाजनक प्रतिक्रिया दिएकी छिन्।
देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन् ।संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औं उच्चस्तरीय सत्रमा भाग लिई शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसके पनि रिहाइका लागि भने पहल गरिरहेको बताइन् ।
हमासको कब्जामा नेपाली रहेको भए रिहाइका हुने आश्वासन अन्तर्राष्ट्रिय जगतबाट पाएको उनले बताइन् । विपिन जोशीको रिहाइका लागि अधिकतम् कूटनीतिक पहल गरेको उनको भनाइ छ ।
उनले उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषदको सदस्यमा मत दिन आग्रह गरिएको बताइन् । मानवअधिकारको रक्षा र प्रवद्र्धनमा नेपालको प्रतिबद्धताका विषयमा जानकारी गराइएको उनले बताइन् । उनले जेनेभामा रहँदा विभिन्न देशका विदेशमन्त्रीसँग महत्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको जानकारी दिइन् ।
मन्त्री राणा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी थिइन् ।