काठमाडौं । विज्ञान प्रविधि, आध्यात्मिकता र उद्यमशीलतासँगै व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गरि आधुनिक शैलीको पठन पाठनमा विशेष जोड दिँदै आएको कश्यप एकेडेमीको पहिलो बार्षिकोत्सव भव्यताको साथ सम्पन्न भएको छ ।
एकेडेमीकी संस्थापक अध्यक्ष कमला खड्काको सभापतित्व एवं नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजिकरण कश्यप एकेडेमीका संस्थापक प्रधानाध्यापक आर.बि.अधिकारीले गर्नु भएको थियो भने एकेडेमीका संरक्षक गूरु कन्चन घिमिरेको बिशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका शिक्षा प्रमुख टंकलाल गैरे, डा.अङ्गत गौतम, प्राध्यापक डा. जिवन अधिकारी, प्रोफेसर डा.मुकुन्दप्रसाद लामिछाने, डा.भोलानाथ ढकाल, प्राज्ञिक व्यक्तित्व विष्णुहरी कोईराला, पुर्व व्यवस्थापन समितिका कमल मोक्तान लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा एकेडेमीको तर्फबाट उपस्थित अतिथि, अभिभावक तथा आगन्तुकहरुलाई नविन परियारले स्वागत मनतव्यले स्वागत गर्नु भएको थियो भने एकेडेमीका विद्यार्थीहरुबाट बिभिन्न सांगीतिक प्रस्तुती सहित स्वागत गरिएको थियो ।
कश्यप एकेडेमीको पहिलो वार्षिकोत्सव समारोह शुभारम्भ गर्दै नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बालअधिकारका आधारभुत विषय शिक्षा स्वास्थ्यमा सबै बालबालिकाले समान अवसर र अधिकार पाउनुपर्ने बताएका छन् । कार्यक्रममा मन्त्री चौधरीले शिक्षा र युवाहरुको बिषयमा आफुलाई अत्यन्तै चासो लाग्ने भएकोले यदि युवाहरुलाई सत्कर्मको बाटोमा लगाउनेहो भने घर-परिवार र विद्यालय बराबर जिम्मेवार बन्नु पर्नेमा जोड दिएका छन् । विद्यालयले मात्र चाहेर वा परिवारले मात्र चाहेर अहिलेका बच्चाहरुलाई सहि लाईनमा ल्याउन मुस्किल पर्ने भएकोले यसमा दुवै पक्षको महत्वपुर्ण भुमिका रहने बताएका छन् ।
उनले सबै बालबालिकालाई समान अवसर र अधिकार उपलब्ध गराउन संवैधानिक व्यवस्था गरिएको भएपनि परम्परागत मूल्य मान्यताका कारण सामाजिक परिवेशमा लैङ्गिक विभेद अन्त्य हुन नसकेको विचार व्यक्त गरेका छन् । विभिन्न बालबालिकामा फरक क्षमता र प्रतिभा हुने भएकाले उनीहरुलाई विद्यालयले संस्कार सहितका गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप, खेलकुदमा सहभागी गराउनुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले विद्यार्थीका जिज्ञासा र चासोलाई पूरा गर्न अभिभावक, परिवारका सदस्य र विद्यालयले सकारात्मक रुपमा सहयोग गर्नुपर्ने बताएका छन् । उनले बालबालिकाले मोवाइलको प्रयोग गर्दा उनीहरूको सिर्जनशीलतामा कमी आएका कारण यो विषय अहिले समाजका लागि ठूलो चुनौति बन्दै गएकाले अभिभावकहरुले पनि उनीहरूको अगाडि मोवाइल नचलाउन आग्रह गरेका छन् ।
कार्यक्रमका बिशेष अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले यो एकेडेमीले बिभिन्न आरोह अबरोहहरु पार गरेर छोटो समयमा अभिभावकहरुको मन जित्न सफल भएको भन्दै एकेडेमी र विद्यार्थीहरुको उज्वल भविश्यको कामना गरेका छन् । उनले भने, ‘विद्यालयले तय गरेको एस एस ई मोडलबाट हुने पढाईले विद्यार्थीहरु लाई सानै उमेरबाट सकारात्मक बाटोमा डोर्याउने भएकोले आम अभिभावकहरुले ढुक्क भएर यो एकेडेमीमा आफ्ना नानीबाबुहरुलाई अध्यापन गराउँदा हुन्छ,’ । नगरप्रमुख डंगोलले एकेडेमीका शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई सम्मान गर्नु भएको थियो ।
विद्यालयका शिक्षिका सीमा खतिवडा र गीता न्यौपानेद्वारा सञ्चालित कार्यक्रममा एकेडेमीका संस्थापक प्रधानाध्यापक आर.बि.अधिकारीले एकेडेमीको प्रमुख उदेश्य भनको संस्कार,विज्ञान प्रबिधि र उद्यमशिलतालाई संयोजन गरेर यो समाजलाई आवश्यक परिरहेको व्यक्तित्व उत्पादन गर्ने तथा त्यसलाई पुरा गर्न छोटो समयमा अभिभावकहरुले देखाएको सद्भावले आफुहरु अझ उत्साहित भएको बताएका छन् । प्रधानाध्यापक अधिकारीका अनुसार एकेडेमीले व्यवसायीक रुपमा मात्र नभएर समाजमा आवश्यक परेको जनशक्ति उत्पादन गरेर सिंगो देश, कीर्तिपुर नगरपालिका तथा मैत्रीनगरलाई चिनाउने उदेश्य रहेको बताए ।
कार्यक्रमको अवसरमा बिभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरुलाई प्रमुख अतिथि नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको बाहुलीबाट सम्मान गरिएको थियो तथा विद्यालयमा रहेका शिक्षक-शिक्षिका र अन्य कर्मचारीहरुलाई समेत खादा लगाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
मैत्रीनगर, कलंकी, काठाडौंमा रहेको कश्यप एकेडेमीले छोटो समयमा नै गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावक माझ आफ्नो भिन्न पहिचान बनाउँदै विद्यार्थी अनुकूल शिक्षण पद्धति अनुसार शिक्षण सिकाइ गर्ने भएकोले अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा पर्दै आएको छ ।