काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा उठ्ने संकेत गरेका छन् ।
आज सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएकाले अब त्यसभन्दा तलको पदमा दाबी नगर्ने बताएका छन् । पत्रकारको जिज्ञासामा सिंहले भने, ‘महामन्त्री र उपसभापतिसम्म भएँ, । अब प्रधानमन्त्री र सभापति हुन बाँकी छ ।’
सिंहले आफ्नो राजनीतिक यात्रा विद्यार्थी कालदेखि सुरु भएको र स्थानीय तह हुँदै पार्टी नेतृत्वमा पुग्दासम्मका अनुभवले आफूलाई थप जिम्मेवारी सम्हाल्न सक्षम बनाएको बताएका छन् । २०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनमा सिंह पनि सभापतिको उम्मेदवार बनेका थिए । तर उनले ३७१ मत मात्र ल्याएका थिए ।
पहिलो चरणको मतदानबाट कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान भएको थियो । दोस्रो चरणको मतदानमा भने सिंहले अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।