काठमाडौं । सेयर बजार परिसूचक नेप्से ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ । आइतबार नेप्से परिसूचक एकैदिन ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको हो । नेप्से भदौ ९ गतेयताकै उच्च विन्दुमा आएको छ ।
भदौ ९ गते नेप्से परिसूचक बजार बन्द हुँदा २८९४ विन्दुमा थियो । नेप्से मात्रै होइन कारोबार रकम पनि भदौपछिकै उच्च भएको छ । आज १४ अर्ब २५ करोडको कारोबार भएको छ । गत भदौ ११ गते १८ अर्ब ६४ करोडको कारोबार भएको थियो । १९६ कम्पनीको मूल्य बढ्दा ४४ को घटेको छ भने ४ वटाको अघिल्लो मूल्यमा कारोबार भइरहेको छ । ४ वटा सेक्टर ४ प्रतिशतभन्दा धेरै बढेका छन् ।
बैंकिङ २.५३, विकास बैंक ३.८८, फाइनान्स ४.२८, होटल तथा पर्यटन ४.१४, हाइड्रोपावर १.९८, लगानी ३.०३, जीवन बीमा ४.३१, उत्पादन ४.७९, माइक्रोफाइनान्स १.३५, निर्जीवन बीमा ३.४१, अन्य १.५१ र व्यापार १.०६ प्रतिशत बढेका छन् । हिमालयन डिस्टिलरी, गार्डियन माइक्रोलाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, दोर्दीखोला हाइड्रोपावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।
पोखरा फाइनान्सको ९.२, बोटलर्स नेपाल बालाजुको ८.८, सप्तकोशी विकास बैंकको ८ र शिवम् सिमेन्टको ७.९ प्रतिशतले मूल्य बढेको छ । समाज लघुवित्तको मूल्य १० प्रतिशतले घटेको छ । अपरहेवाखोलाको ५.४७ तथा भूगोल इनर्जीको ३.४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सिन्धु विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र साहस ऊर्जा अगाडि रहेका छन् ।