काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीच खटपट भएको छ । प्रमुख प्रशासकीय अधिकृत विषयलाई लिएर बालेन र डंगोलबीच खटपट भएको हो ।
काठमाडौं महानगरमा तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत छैनन् । यसअघि सरोज गुरागाईंले काठमाडौं टावरको १२ तलाको नक्सा पास प्रक्रिया अघि बढाउनुपर्नेमा त्यसलाई मिचेर १९ तलको नक्सा स्वीकृति दिएको भन्दै मेयर बालेनले गत पुस ५ गते छानबिनमा ताने ।
उनको ठाउँमा अरु कोही पठाइदिन भन्दै पुस २४ गते नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाए । तर, अहिलेसम्म काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइएको छैन । मन्त्रालयस्तरबाट सार्वजनिक भइरहेको अनौपचारिक भर्सन हेर्ने, सुन्ने हो भने खासमा कर्मचारीहरू नै काठमाडौं महानगरपालिकामा जान मानिरहेका छैनन् ।
यही विषयमा असन्तुष्ट बालेनले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरी लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे मलाई हराउने ताकमा, देशलाई चैँ नडुबाउनु होला ’
तर, महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि छानबिन गर्न गठन गरेको समितिले म्याद गुज्रिँदा पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।
प्रशासकीय अधिकृत नपठाएको भन्दै बालेनले ओलीविरुद्ध कडा स्टाटस लेख्न थालेपछि सुनिता आक्रोशित बनेकी हुन् । यसमा गल्ती केन्द्र सरकारको नभइ बालेनको भएको सुनिताको दावी छ । उपमेयर सुनिताले भनिन् ‘दिएको समयमा छानबिन समितिले प्रतिवेदन बुझाएको छैन । प्रतिवेदन लुकाएर राख्ने अनि दोष अन्ततिर लगाए उम्किने भन्ने कुरा त्यति उचित हो जस्तो लाग्दैन ।’
आफ्नो गल्तीबाट नउम्कीन उपमेर सुनिताले बालेनलाई चेतावनी समेत दिएकी छन् । यता आफ्नो विरुद्धमा उपमेयर लागेपछि बालेन पनि डंगोलसँग असन्तुष्ट बनेका छन् ।
गत स्थानिय तहको निर्वाचनमा स्वतन्त्रबाट बालेन काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएका हुन् भने, एमालेबाट लोकप्रीय मत ल्याउदैँ सुनिता उपमेयरमा निर्वाचित भएकी हुन् । मेयरमा निर्वाचित पछि बालेनको लोकप्रीयता ह्वात्तै बढेको छ । यता डंगोलले पनि आफ्नो जनमत जोगाएर राखेकी छन् ।
मेयर बालेन निकटस्थहरूका अनुसार, उनी अर्को एक कार्यकाल काठमाडौंमा काम गरेर देशभर स्वतन्त्रहरूको माहोल बनाउन चाहन्छन् । ‘क्रेज’ राम्रो भएका बेलासमेत पार्टी खोल्ने योजनालाई बालेनले सोही कारण तपसीलमा राखेको बताइन्छ । यता, नेकपा एमालेले आउँदो चुनावमा बालेनविरुद्ध सुनिताभन्दा बलियो अर्को उम्मेदवार देखिरहेको छैन । र, एमालेले सुनितालाई नै आगामी निर्वाचनमा मेयरको उम्मेदवार बनाउने देखिन्छ ।