काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको जनाएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले आज धनुषामा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएका कारण कुनै सम्भावना नरहेको बताएका हुन् । ‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तत्काल त्यो अवस्था आएकै छैन । तर कार्यगत एकता जोसँग पनि सम्भव छ,’ उनले भने, ‘इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ ।’ एजेण्डाको आधारमा कार्यगत एकता गर्न सकिने बताउँदै खनालले राष्ट्रियतामाथि खतरा बढेको पनि बताएका छन् ।
खनालको प्रश्न छ, ‘आज राष्ट्रियतामाथि खतरा बढेको छ । सबै वामपन्थीहरू मात्र होइन, अरु पनि किन एकताबद्ध भएर उभिन सकेका छैनन् ?, ।’ फरक प्रसंगमा खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाएका छन् । जसको पछिल्लो उदाहरण कही समय अघि जारी भएको अध्यादेश रहेको जानकारी दिए । उनले संवैधानिक व्यवस्थाअनुसार कुनैपनि कानुनहरू सामान्य रुपमा बनाउन सकिने उल्लेख गर्दै, सामान्य रुपमा कानुन बनाउने कुरामा कसैले पनि अवरोध नगरेको बताएका छन् ।
खनालले भने, ‘अहिले जुन सरकार छ, झन्डै दुई तिहाईको सरकार भारी बर्कम सरकार भएपनि अनेक संकट पोको बोकेर हिँडेको छ । त्यसमध्येको एउटा पोको अहिले भर्खरै जारी गरिएको अध्यादेश पनि हो, ।’ उनले भने, ‘अध्यादेश ल्याउनुपर्ने के जरुरत छ यो मुलुकमा ? जब कि संविधान अनुरुप कुनैपनि ऐनहरू सामान्य रुपले बनाउन सकिन्छ । सामान्य प्रक्रियाबाट ऐन बनाउने कुरामा कसैले पनि अवरोध गरेको छैन । यो अवरोध नै नभएको बेलामा अध्यादेश ल्याउनुपर्ने कुनै आवश्यकता नै होइन ।’
खनालले प्रक्रियाकै हिसाबले पनि आफ्नो पार्टीको संसदीय दलले अध्यादेशलाई समर्थन नगर्ने प्रष्ट पारेका छन् ।