काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबदेखि एमाले र कांग्रेसलाई फकाएर सरकारमा नजाने बताएका छन् ।
कैलालीको टीकापुरमा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले कांग्रेस र एमालेसँग सहकार्य गर्दा माओवादीमा पनि कांग्रेस र एमालेको रोग सरेको भन्दै अब विगतको जस्तो नहुने बताएका हुन् ।
प्रचण्डले आगामी निर्वाचनभन्दा पहिले सत्तामा नजाने प्रतिबद्धता पनि सुनाए । ‘कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दा कहिले एमाले कहिले कांग्रेसको रोग सर्यो । हामीलाई लागेको रोगको उपचारको लागि तपाईंहरूसमक्ष आएका छौं’, उनले भने , ‘अब विगतमा जस्तो कांग्रेसलाई वा एमालेलाई फकाएर सरकारमा जाने पक्षमा छैनौं । २०८४ सम्म यो सरकार चाहिएन । जनताको विश्वास जितेर देशको एक नम्बर पार्टी भएर सुशासनको पक्षमा जानेछौं ।’
कांग्रेस र एमालेले संविधान उल्टाउन खोजेको आरोप लगाउँदै प्रचण्डले भने, ‘उत्पीडित वर्गको थप अधिकारको लागि माओवादी आन्दोलनमा एकाकार हुन आवश्यक ।’