सोमवार, आश्विन १९ गते २०८३

एउटा कुलमानलाई हटाए हजारौँ कुलमान लिएर आउँछौँ : सांसद मनिष झा

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारले विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारवाही गर्न लागेकोप्रति आपत्ति जनाएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसमा आपत्ति जनाएका हुन् । उनले कुलमान जस्तो मुलुकलाई फाइदा पुर्याउने व्यक्ति कारबाही गर्ने सरकारको रवैया ठीक नहुने बताएका छन् । झाले भने, ‘खबरदार एउटा कुलामान लखेट्यौ भने हामी हजारौ कुलमान लिएर आउँछौ, ।’

त्यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ऊर्जामन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादनमा शून्य अंक दिँदै स्पष्टीकरण सोधिएको भन्दै आपत्ति जनाएका छन् । उनले भने, ‘कुलमान घिसिङलाई निरन्तर सरकारले स्पष्टीकरण सोध्ने कुरा सँगै मिडियाहरूमा सुनिरहेका छौँ उहाँको मूल्याङ्कनमा शून्य आएको सुनिरहेका छौँ, एउटा राम्रो काम गरिरहेको छ जसले विद्युत प्राधिकरणलाई नाफामा लगिरहेको छ । त्यसलाई अघि लैजानुपर्ने ठाउँमा शून्य अंक दिएको सुनिरहेका छौँ यो कुरा के हो ?’ घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याउनेलाई कारबाही गर्न लागिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

उनले भने, ‘ठिक ढंगले काम गरिरहेको अवस्थामा शून्य अंक ? प्राधिकरणलगायत सार्वजनिक संस्था घाटामा गइरहेको अवस्थामा अहिले निरन्तर नाफामा गइरहेको छ । हाम्रो पार्टी अध्यक्ष प्रधानमन्त्री हुँदा विद्युत निर्यात र आयातको काम गरियो, यसलाई आज पनि स्पष्टीकरण, भोलि पनि स्पस्टीकरण पर्सी स्पष्टीकरण गरिएको छ । यसमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु । रुलिङको माग गर्छु सम्पूर्ण विपक्षीको तर्फबाट।’

त्यसैगरी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पनि कुलमान घिसिङमाथि सरकारले कारबाही गर्न लागेको भन्दै आपत्ति जनाएका छन् । उनले भने, ‘कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलियो भनेर सडक र सदन दुवैबाट आवाज उठ्छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार