काठमाडौं । सरकारले संसदमा पेश गरेका पाँच वटै अध्यादेश बहुमतले स्वीकृत भएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारले ल्याएका अध्यादेशलाई निर्णयार्थ पेस गरेकोमा बहुमतले स्वीकृत भएका सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् ।
अध्यादेशमा विपक्षी दलका सांसदले राखेका अस्वीकार प्रस्ताव बहुमतबाट अस्वीकृत गर्दै पाँचै अध्यादेश बहुमतबाट पारित भएका हुन् ।
जसमा सुशासन प्रबद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकोमा उक्त प्रस्ताव बहुमतले स्विकृत भएको छ ।
यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश, २०८१ लाई सदनबाट स्वीकार गरियोस् भन्ने प्रस्ताव उपप्रधान एवम अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्ताव गरेका थिए । उक्त अध्यादेश बहुमतले स्वीकृत भएको छ ।
यस्तै निजीकरणसम्बन्धी अध्यादेश, २०८१ लाई सदनबाट स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री पौडेलले नै पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
यस्तै आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री पौडेलले पेश गरेकोमा उक्त प्रस्ताव पनि बहुमतले स्वीकृत भएको छ ।
यस्तै सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव भूमी, व्यवस्था सहरकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले पेश गरेकोमा बहुमतले स्वीकृत भएको छ ।
प्रतिनिधि सभाबाट पाँच वटै अध्यादेश स्वीकृत भएसँगै अब राष्ट्रिय सभामा पनि निर्णयार्थ पेस हुनेछन् ।