काठमाडौं । के फरि नेपालमा राजतन्त्र पुनर्स्थापना हुनसक्छ ? यो प्रश्नको जवाफ समयले नै दिनेछ । तर, आज राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत् प्रदर्शनले फेरि राजतन्त्र आउनसक्ने बहस भने पक्कै सुरु भएको छ । बुधबार राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गर्यो ।
प्रदर्शनमा राष्ट्रिय झण्डासहित ‘राजा आउ, देश बचाऊ’ लगायत नाराहरू लगाइएका थिए । प्रदर्शनमा करिब दुई हजार जतिले सहभागिता जनाएको दावी छ । राप्रपाले काठमाडौंमा मोटरसाइकल र्यालीसमेत गरेको थियो ।
र्याली बबरमहलबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल हुँदै दरबारमार्ग पुगेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्यालीमा सहभागी भएका थिए । र, नारायणटिही दरवारको दक्षिण गेट अगाडि राजा आउ देश बचाउ भन्दै राप्रपाका नेता कार्यकर्ताहरुले राना घन्काएका थिए ।
पूर्व राजाको सन्देश फागुन सात गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अब पालो आइसकेको भन्दै सन्देश दिएपछि राजावादीहरु सल्बलाएका हुन् ।
‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैब हुनेछ । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के के त्याग गर्नु पर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीहरूलाई आह्वान गर्दछौं । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।’, शाहले भनेका थिए । त्यसपछि भने राजा फर्कन सक्ने सम्भावना कायम छ भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेका छन् ।
यता राप्रपा बृहत् प्रदर्शनमा उत्रिएको छ । तर, अहिलेको अवस्थालाई नियालेर हेर्ने हो भने राजा फर्कन सक्ने सम्भावना भने छैन । राजनीतिक दलहरुप्रति वाक्क भएका जनताहरुले नेताहरुलाई खोजी खोजी गाली गरेपनि लोकतन्त्रको विरुद्धमा भने देखिदैँनन् । किन भने व्यवस्था गलत कुनै पनि हालतमा होइन । गलत भनेको नेताहरुको आचरण हो ।
ताकी अहिलेका नेताहरुले लोकतन्त्रमा पौडी खेलिरहेका छन् । जसको कारणले राजनीतिक दलका नेताहरुमाथि जनताको आक्रोश देखिन्छ । तर, नेताहरुमाथि जनताको आक्रोश देखिएकै भरमा राजतन्त्र आउँछ भन्नु केबल सामाजिक सञ्जालको हल्ला मात्रै हो । अधिकांश जनताले राजतन्त्र रुचाएको देखिदैँन ।
यदि राजतन्त्र चाहेको भए २०६२/६३ को झै अहिले जनता सडकमा उत्रिने थिए । र, उता पूर्वराजा शाहले पनि आफू फेरि नारायणहिटी फर्कनको लागि खासै योजना, प्रयास गरेको देखिदैँन । त्यसकारण पछिल्लो अवस्थालाई नियालेर हेर्दा राजतन्त्र पुनर्स्थापना हुने सम्भावना भने देखिदैँन ।