सोमवार, आश्विन १९ गते २०८३

सरोज गुरागाईलाई नै प्रमुख प्रशासकीय अधिकृतमा निरन्तरता दिन काठमाडौं महानगरलाई मन्त्रालयको पत्र

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव सरोज गुरागाईंलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको छ ।

बुधबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए । पत्र आउने बित्तिकै बुधबार नै मन्त्रीस्तरीय निर्णयबाट गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरमा पत्राचार गरेको संघीय मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले बताएका छन् । गुरागाईंको पत्र पाएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले  गुरागाईंलाई नै  काठमाडौं महानगरमा नै निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

काठमाडौं टावरको नक्सा पास गर्ने निर्णय एकलौटी गरेको भन्दै मेयर बालेन शाहको निर्देशनमा गत पुस ८ गतेदेखि एक साताका लागि विदामा बसेका थिए । त्यसपछि पनि आफू कार्यालय जान खोज्दा मेयर शाहका सचिवालयका कर्मचारीहरूले बारम्बार अवरोध गर्दै आएको भन्दै गुरागाईंले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका थिए । काठमाडौं टावरको विवाद अहिले उत्कर्षमा रहेको छ । यो टावर निर्माण गर्ने नक्सा पासको विवाद बढ्दै गएपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई काठमाडौं महानगरपालिका छिर्न रोक लगाइएको हो ।

सुरूमा, गत पुस ५ गते उनलाई मेयर बालेन शाहको सचिवालयले सात दिन बिदामा बस्न भनेको थियो । त्यसपछि कार्यालय जान खोज्दा उनको कार्यकक्षमा ताला लगाएपछि गुरागाईं महानगर जान सकेका थिएनन् । त्यही बीचमा महानगरले सामान्य प्रशासन मन्त्रालयलाई अर्का प्रमुख प्रशासकीय अधिकृत पठाइदिन पत्राचार गरेको थियो । मन्त्रालयले यो विवादबारे स्पष्ट नभएसम्म नपठाउने भनेको थियो ।

दुई महिनादेखि काठमाडौं महानगरले कायममुकायम प्रमुख प्रशासकीय अधिकृतका भरमा काम गरिरहेको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार