काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकार गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई खोजिरहेको छ कि छैन भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद खनालले सहकारीको सबैभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेका गोर्खा मिडियाका अध्यक्ष राईबारे प्रश्न गरेका छन् । उनले सहकारी संसदीय विषेश छानविन समितिले रवि लामिछानेको सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नरहेको भनेपनि सरकारले प्रतिशोध साँधेको आरोप लगाएका छन् ।
उनले भने, ‘जीबी राईले साइन गरेको डकुमेण्ट त्यो सहकारी छानविन विषेश समितिको अंश बनाइएको छ । बरु सरकार जीबी राईलाई खोज्दै छ कि छैन आजकल ? प्रतिवेदनमा कम्पनीमा आएको रकम परिचालनमा मात्रै संलग्न रहेको लेख्दालेख्दै पनि सहकारी ठगीमा पक्राउ गरियो, अनि पछि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा जोडियो । ८४ दिन हिरासतमा राखेर बल्ल मुद्दा दर्ता गरियो । अझै एउटा अदालतमा त मुद्दा पनि दर्ता भएको छैन । सरकार अल्झाइराखेको छ । सत्तापक्षका माननीयहरुलाई पनि सहकारी ठगीको आरोप लाग्यो सामान्य सोधपुछ गरेर छोडियो ।’