काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो जीवनको परवाह नगरी बिसौँ वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको बताएका छन् ।
उनले आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका छन् । मुख्यमन्त्री सिंहले बेथिति अन्त्यका लागि विगतका संघीयमन्त्री वा प्रदेशका मुख्यमन्त्रीहरुले पनि कुनै काम नगरेको आरोप लगाएका छन् । उनले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका बेथिति अन्त्यका लागि अभियान सञ्चालन गर्दा विभिन्न ठाउँबाट भड्काउने प्रयास गरेको भन्दै आफूले आँट गरेर अगाडि बढेको बताएका छन् । उनले भने, मधेसका केही स्थानमा एकैदिन भएको २१ वटा अस्पताल अनुगमनमा २० वटा बिनादर्ता सञ्चालन गरिएको पाइएकाले उक्त अस्पताल तत्काल बन्द गरिएको बताएका छन् ।
मुख्यमन्त्री सिंहले भने, ‘चपुर, नवलपुर र हरिवनमा २१ वटा अस्पतालको अनुगमन गर्दा २० वटा बिनादर्ताको थियो जुन त्यही दिन बन्द गर्यौं र एउटा मात्र सञ्चालन भएकोे छ । अब यी २० जना त मेरो पछाडि खनिएर लाग्छन् । तर उनीहरुले जे जे भन्नु छ भनुन् ।’ उनले विगतका सरकारले पनि विभिन्न धम्कीका कारण काम गर्न नसकेको हुनसक्ने भन्दै आफूले बेथिति अन्त्यका लागि ज्यानको बाजी लगाएर भएपनि अभियान जारी राख्ने बताएका छन् ।
मुख्यमन्त्री सिंहले भने, ‘सार्वजनिक रुपमा काम गर्दै जाँदा प्रश्नको कुरै आउँदैन । यो सार्वजनिक जनहितको कुरा हो । यसमा धेरै प्रेसर आउँछ, यो नगरी दिनुहोस् त्यो नगरी दिनुस् भनेर, तर यो बेथिति आज न भोलि कसैले त अगाडि बढ्नैपर्छ । हामीले आँट गरेर अगाडि बढेका छौँ । काम गर्दै जाँदा विभिन्न किसिमका तत्वहरु कुरा निकाल्छ । मलाई डिमोनलाइज्ड गर्न खोज्छ, यो बाटोबाट भट्काउन खोज्छ विभिन्न किसिमका थ्रेटहरु हुन्छ । तथापि त्यसलाई यसलाई छोड्यो भने भोलिका दिनमा अर्कै कुरा निस्किन्छ । त्यसैले यो निरन्तर जारी रहन्छ ।’
उनले मधेस प्रदेशका आठै वटा जिल्लामा नक्कली डाक्टरले मान्छेको ज्यानसँग प्रत्यक्ष खेलवाड गरेको भेटिएको बताएका छन् । बिना मापदण्ड खोलिएका अस्पतालहरुमा डाक्टरको एनएमसी नम्बर समेत नक्कली भेटिएको बताएका छन् । उनले एम्बुलेन्स चालक तथा अनमी र अहेब पढेका व्यक्तिहरुले समेत अस्पताल सञ्चालन गरेको बताएका छन् । मुख्यमन्त्री सिंहले भने, ‘यस्तो सम्म भयो कि एम्बुलेन्सका चालकहरु मिलेर पनि अस्पताल खोलेका रहेछन् । अनमि र अहेब पढेको छ जागिर कतै पाएन, दुई चार जना मिलेर अस्पताल खोलेका छन् दुई चारवटा कोठा भाडामा लिएर । खोज्दै जाँदा यस्तो पनि भेटियो कि डाक्टरको एनएमसी नम्बर राखेको हुन्छ तर त्यो फेक डाक्टर हुन्छ, अर्कैको एनएमसी नम्बर युज गरेको हुन्छ ।’
उनले एसइई नजिक आइसकेकाले त्यसमा भएका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरी रहेको बताएका छन् । मुख्यमन्त्री सिंहले मधेशका आठ वटै जिल्लाका शिक्षा अधिकारीलाई एसईई परीक्षामा कतै चिट भेटिए केन्द्राध्यक्षलाई निलम्बन गर्नेसम्मको तयारी गरेको बताएका छन् ।