काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको सन्दर्भमा रुससँग भन्दा युक्रेनसँग व्यवहार गर्न ‘बढी गाह्रो’ भएको बताएका छन् ।
ट्रम्पले शुक्रबार यस्तो बताएका हुन्, जब उनले यसअघि रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने बारेमा गम्भीरतापूर्वक विचार गरिरहेको बताएका थिए ।
“रूसले युद्ध क्षेत्रमा युक्रेनलाई कडा प्रहार गरिरहेको छ,” ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, “यस तथ्यको आधारमा म युद्धविराम र अन्तिम शान्ति सम्झौता नभएसम्म रूसमाथि ठूलो बैङ्किङ प्रतिबन्ध र शुल्क लगाउने बारेमा गम्भीरतापूर्वक विचार गरिरहेको छु ।”
गत हप्ता शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बीचको ह्वाइट हाउसको ओभल अफिसमा भएको भेटघाट चर्को बहसमा परिणत भएको थियो ।