काठमाडौँ । गण्डकी प्रदेशको भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं आइपुग्ने कार्यक्रम छ।
एकसाता लामो पोखरा बसाइपछि दिउँसो करिब साढे ३ बजे काठमाडौँ फर्किन लागेका पूर्वराजाको स्वागतमा राजावादी दल र समूहहरुले आज दिउँसो काठमाडौँमा प्रदर्शनको तयारी गरेका छन्।
एयरपोर्ट गेटदेखि निर्मल निवाससम्म पूर्व राजाको स्वागतमा प्रदर्शन गर्ने तयारी राप्रपासहितका दल र समूहहरुले गरेका हुन्। उनीहरुको प्रदर्शनलाई उच्छृंखल हुन नदिन काठमाडौँका मुख्य चोकमा सुरक्षाकर्मीहरुको तैनाथी बढाइएर उच्च सतर्कता अपनाइएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।
आज दिउँसो राजावादी समूहले काठमाडौँका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटदेखि गौशाला चोकसम्म भेला भएर पूर्व राजाको स्वागत गर्ने तयारी गरेका छन्।