काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् । उनी पोखराबाट समिट एयरको चार्टर्ड जहाजमा केही बेरअघि ओर्लिएका हुन् ।
आज लामो पोखरा बसाइपछि काठमाडौं फर्किएका पूर्वराजा शाहलाई उनका समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नाराबाजीसहित स्वागत गरेका छन् । विमानस्थल परिसरमा समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनलाई स्वागत गर्न राप्रपा नेपालका नेता कमल थापासहित उनका समर्थक विमानस्थल पुगेका हुन् ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी तीव्र बनेपछि सुरक्षाकर्मी र समर्थकबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो । स्थिति नियन्त्रणमा लिन विमानस्थल सुरक्षाकर्मीहरू सक्रिय बनेका छन् ।
