सोमवार, आश्विन १९ गते २०८३

म बोल्ने नै मान्छे हुँ, प्रतीक्षा गर्नुहोला : रवि लामिछाने

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले बोल्ने समय एकदम नजिक आएको प्रतिक्रिया दिएका छन् । रुपन्देहीको उच्च अदालतबाट बाहिरिने क्रममा रास्वपा सभापति लामिछानेले मेरो बोल्ने समय एकदम नजिक आएको र त्यसको तयारीमा बसिरहेको प्रतिक्रिया दिएका छन् ।

रुपन्देहीस्थित बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न दिएको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गरेर बाहिरिएका उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । ‘अहिले यत्ति भन्छु, मेरो बोल्ने समय निकै नजिक आउँदैछ,’ सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै लामिछानेले भने, ‘तपाईंहरूलाई थाहै छ त म बोल्ने नै मान्छे हुँ । प्रतीक्षा गर्नुहोला । छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु ।’

लामिछानेले जिल्ला अदालत कास्कीले माग गरेको ६५ लाख रुपैयाँ धरौटी बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दायर गरेका थिए । त्यस्तै ६० लाख धरौटी माग गर्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पनि निवेदन दायर गरिसकेका छन् ।    

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार