सोमवार, आश्विन १९ गते २०८३

मेरो मुटु हल्लिएको छैन : प्रचण्ड

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाएको बताएका छन् । सिंहदरबारमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले राजावादीहरूको प्रदर्शनबाट आफू विचलित भने नभएको बताए । 

राजावादीको चलखेल बढेको भन्दै पार्टीको जागरण अभियान स्थगित गराएर प्रचण्ड मधेशबाट काठमाडाैं आएका थिए । पत्रकारहरूले उनलाई 'राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो' भनेर सोधेका थिए । 

जवाफमा प्रचण्डले भने, 'यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु ? त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ।'

प्रचण्डले प्रतिगामी शक्तिले टाउको उठाएको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । 'यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ । सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ । जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन । सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेसन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ । हामी सल्लाह गर्दैछौँ', प्रचण्डले भने ।

प्रचण्डले गणतन्त्रवादीहरूको संयुक्त सभा गर्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘हामी यो विषयमा सल्लाह गर्दैछौँ ।’ माओवादी केन्द्रको पदाधिकारी बैठकले सभा गर्ने निर्णय गरेको थियो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार