काठमाडौँ । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसीप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने ‘लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन’ कार्यक्रमअन्तर्गत उक्त टोली सोमबार नेपाल आएको हो ।
टोलीलाई सांसद उर्मिला माझी, नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले स्वागत गर्दै चिनियाँ फोटोग्राफरको आगमनले नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । सो अवसरमा स्वागत कार्यक्रममा साङ्गीतिक समूह सुकर्मले आफ्नो प्रस्तुति दिएको थियो ।
नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा कार्यक्रम गरिएको जनाइएको छ । कार्यक्रम नेपालको पर्यटन प्रवर्द्धनका लागि एक महत्त्वपूर्ण अवसर हुने फोरमका संयोजक डा कल्याणराज शर्माले जानकारी दिए ।