रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्व वडाध्यक्ष तीर्खबहादुर बुढाथोकी रसिया र युक्रेनको लडाईंमा मारिएका छन् । बुढाथोकीको मृत्युको खबरले अहिले परिवार शोकमा डुबेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
२०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार थिए । पराजित बनेपछि उनी रसिया गएका थिए । २०८० असोजमा बुढाथोकी रसिया सेनामा सामेल भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । रसिया र युक्रेनको बेलाबेला भइरहने लडाईंले ज्यान जोखिम रहेको आफन्तसँग फोन र फेसबुक म्यासेन्जरबाट कुरा गर्ने गरेको बुझिएको छ ।
परिवारले फागुन २४ गते मात्र उनको मृत्युको जानकारी पाएका थिए । उनको मृत्यु भएको यकिन मिति समेत थाहा छैन। उनले रसियाको सेना छाडेर घर आउने पनि बताउँदै आएको आफन्त बताउँछन् । अन्ततः उनको दुःखद घटनामा ज्यान गएको छ । सोमबार बेलुका आफन्त र इष्टमित्रमार्फत उनको मृत्युको खबर सामाजिक सञ्जालमा फैलिएको हो । वडाको पूर्व अध्यक्ष समेत भइसकेका र पूर्वी रोल्पाको नेकपा एमालेको नेता समेत रहेका बुढाथोकीको रसियामा भएको मृत्युले यहाँका राजनीतिज्ञ, जनप्रतिनिधि र नागरिक समाज स्तब्ध बनेका छन् ।
तिलक द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत थिए । माओवादीको आधारभूमि त्यसमाथि नेपाली सेनामा कार्यरत रहेकाले असुरक्षा महसुस गरेर उनलाई अभिभावकले राजीनामा दिन लगाएका थिए । छोरोको चिन्ताले उनका बुवाआमाले नै जागिर छोड्न लगाएका थिए । जागिर छोडेर केही समय गाउँमै खाली बसे । पछि घर परिवारलाई थाहै नदिई उनी रुस गएका थिए । तिलक २०६३/०६४ को समयमा अवैध तरिकाले इराक जान खोजेका थिए । तर पक्राउ परेर बीच बाटोबाटै फर्किएका थिए ।